• Friday 9th of October 2026

ठूलो मिसनमा पारस खड्का, नेपाललाई १० वर्षमा टेस्ट राष्ट्र बनाउने योजना !


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाललाई १० वर्षमा टेस्ट राष्ट्र बनाउने काममा क्यान लागेको बताएका छन्। शनिबार एक कार्यक्रमका क्रममा पारस खड्काले १० वर्षमा नेपाललाई टेस्ट राष्ट्र बनाउने गरी काम गरिने जानकारी दिएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ सहयोग गर्न आयोजना गरेको कार्यक्रममा पारसले नेपाललाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

सबैले हातोमालो गरेर कम गर्दा नेपाली क्रिकेटलाई राम्रो सफलता दिलाउन सकिने पारसको भनाई छ। उनले संसारभर बस्ने नेपालीको सहयोग आउने च्यानल बनाउन क्यान तयार रहेको र ट्रस्ट बनाएर जान सकिने बताउन पनि छुटाएनन्।

“यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस्। एनआरएनएको सहकार्यबाट राम्रो नतिजा निकाल्न सक्छौं। यो सहकार्यलाई अर्को चरणमा लैजान क्यानले पनि बोर्ड बैठकबाट छलफल चलाउनेछ। नेपाललाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक छ। अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने भनेर मात्र हुँदैन। सबैको हातेमालो आवश्यक छ।”,पारसले भने।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ सहयोग गरेको छ। काठमाडौँमा आयोजित एक समारोहबीच एनआरएनएका अध्यक्ष डा. बद्री केसीसहित पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरियो।

समारोहमा एनआरएनएले टी-२० विश्वकप-२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान पनि गरेको छ। कार्यक्रममा क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत क्यान पदाधिकारी उपस्थित थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖