काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ३५ ओभर सकिँदासम्म पाँच विकेट गुमाएर एक सय २१ रन बनाएको छ । नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान गुलसन झा १६ र सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे सात रन बनाउँदै क्रिजमा छन् ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देव खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।
चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।
