दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । बुधवार राति सकिएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।
नेपाल रहेको समूह ‘डी’मा न्युजिल्यान्ड २ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेको छ । नेपाललाई हराएसँगै पाकिस्तान पनि सुपर सिक्समा पुगेको छ ।
नेपाल र अफगानिस्तानले भने न्युजिल्यान्ड र पाकिस्तान दुवैसँग पराजय ब्यहोरेका छन् । अब अन्तिम खेलमा लगातार दुई खेलमा पराजित नेपाल र अफगानिस्तान भिड्दैछन् ।
हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् ।
अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराए सुपर सिक्समा पुग्नेछ । यसर्थ नेपालले अब शनिवार हुने उक्त खेल जित्नै पर्ने हुन्छ । अफगानिस्तानलाई हराएको खण्डमा नेपाल सुपर सिक्समा पुग्नेछ ।
अर्कोतिर न्युजिल्यान्ड र पाकिस्तान भने अब समूह विजेता बन्नलाई प्रतिस्पर्धा गर्नेछन् । यो खेल पनि शनिवार नै हुनेछ ।
