काठमाडौं । स्पेनका एक न्यायाधीशले फुटबल महासंघका पूर्व अध्यक्ष लुइस रुबियालेसलाई महिला विश्वकपका दौरान कप्तान जेनी हर्मोसोलाई चुम्बन गरेको घटनामा मुद्दा चलाउन प्रस्ताव गरेका छन् ।
अस्ट्रेलियामा स्पेनको जितपछि प्रस्तुतिको क्रममा रुबियालेसले हर्मोसोको टाउको समातेर चुम्बन गरेपछि संसारभर उनको आलोचना भएको थियो।
कप्तान हर्मोसोले त्यो चुम्बन ‘सहमतिमा नभएको’ बयान दिएपछि रुबियालेस पदच्युत भएका थिए । तर उनले हर्मोसोको दाबीलाई अस्वीकार गर्दै आएका छन्।
ति न्यायाधीशले मुद्दाको सुनुवाइका लागि पर्याप्त प्रमाण रहेको बताएका छन्। रोयटर्स समाचार एजेन्सीले उद्धृत गरेको अदालतको बयान अनुसार, मड्रिडमा सुनुवाईको क्रममा, न्यायाधीशले चुम्बनलाई ‘सहमतिमा होइन, एकपक्षीय र आश्चर्यजनक’ भनेर वर्णन गरेका छन्।
रुबियाल्सलाई यौन दुर्व्यवहार र जबरजस्तीको आरोप लागेको थियो । स्पेनको कानुन अनुसार यस्तो चुम्बन गरेमा जरिवानादेखि चार वर्षको जेलसम्मको सजाय हुन्छ।
