• Friday 9th of October 2026

पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं : पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए।

मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए। प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए। खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको उनले बताए।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन्। अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए। उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖