• Monday 5th of October 2026

चीनियाँ दूतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ भदौ । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित चीनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो।

अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चीनियाँ विस्तारवाद, मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो।

अध्यक्ष यादवले चीनियाँ दुतावासले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको बताए । उक्त कार्य राजदूतको मर्यादा विपरीत भएको बताउँदै उनले सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता छाडा गतिविधिमाथि रोक लगाउनपर्ने बताए ।

‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीन माथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन’ यादवले भने, ‘भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन।’

चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपाल माथि ऋणको भारी बोकाएको यादवको आरोप छ। अहिले नेपाल–भारत सम्बन्ध बिगार्न पनि राजदुतले भुमिका खेलिरहेको उनले बताए। ‘चीनले नेपाललाई आफ्नो सस्तो, कमसल सामान बेच्ने बाजार र भारततर्फ सुन लगायतका सामान तस्करी गराउने ट्रान्जिट प्वाइन्टको रुपमा मात्र प्रयोग गर्दै आएको छ’ उनले भने, ‘नेपालको अर्थतन्त्रमा कुनै योगदान गरेको छैन। चीनका यस्ता गतिविधिप्रति नेपाल सावधान र सचेत रहन आवश्यक छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖