• Friday 9th of October 2026

फ्रेन्च लिग वानमा साम्बाको डेब्यु


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले विश्वकै लोकप्रिय महिला फुटबल लिग फ्रेन्च लिग वानमा डेब्यु गरेकी छिन् ।

एन अभान्ट ग्वेंगाम्पमा आधिकारिक रूपमा जोडिएकै साता उनले डेब्यु गरेकी हुन् । शनिबार मध्यरात बोर्डोसँग भएको खेलमार्फत साम्बाले लिग वानमा डेब्यु गरेकी हुन् । खेल एक–एकको बराबरीमा सकियो ।

७५औँ मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले खेलमा गोल भने गरिनन् । तर, उनको डेब्यु सुखद रह्यो ।

ad
ग्वेंगाम्पले पहिलो हाफको आठाैँ मिनेटमै खेलमा अग्रता लिएको थियो । तर, अग्रता लामो समयसम्म रहन सकेन । ३६औँ मिनेटमा लौरोले गोल गर्दै बोर्डोलाई खेलमा फर्काइन् । दुवैतर्फबाट थप गोल नभएपछि दुवैले एक–एक अंक बाँडे ।

१३औँ चरणको खेल सकिँदा ग्वेंगाम्पले जम्मा नौ अंक हासिल गरेको छ । १३ मध्ये उसले जम्मा दुई खेल जितेको छ भने ६ खेल बराबरी खेलेको छ । बोर्डो भने समान खेलमा ६ अंकसहित १२औँ (अन्तिम) स्थानमा छ ।

ad
ग्वेंगाम्पले आगामी शनिबार राति फ्लुरीसँग १४औँ खेल खेल्नेछ । सावित्रा शुक्रबार मात्र लिग वानको क्लब एन अभान्ट ग्वेंगाम्पमा जोडिएकी हुन् । युरोपमा एकपछि अर्को सफलता हासिल गर्दै आएकी सावित्रा युरोपबाट व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖