तेस्रो एकदिवसीय खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।
खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन्। हेलिङगरको बलमा बोल्ड हुनअघि उनले १४ बलमा ३ चौका प्रहार गरे। त्यतिबेला नेपालले ४.५ ओभरमा १ विकेटको क्षतिमा ४५ रन जोडेको थियो।
खेलको दोस्रो ओभरको सुरुवाती चार बलमा अनिल साहले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए।
नेपाललाई पेनाल्टीबाट पाँच रन
खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो।
क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ।
यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो। अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए।
जाफरका कारण नेपालले आफ्नो ब्याटिङ सुरु हुनुअघि नै पाँच रन पाएको थियो।
