• Monday 5th of October 2026

मन्त्री किरातीको गुनासो : राम्रो काम गर्न खोज्दा ‘स्टन्ड’ गर्‍यो भन्छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ड’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।

पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

यो देशमा राम्रो काम गर्नेलाई स्टन्ड भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ड गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

‘हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिदैन, स्टन्ड भनिन्छ,’ उनले भने, ‘सरसफाई नीति बनाएर लागू गरिएको छ, म आफै सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु, मिडियाहरुले नै खिसी गरेर उडाउँछ ।’

उनले मन्त्री भए यता गरिएका कुन–कुन काम स्टन्ड हो भन्दै प्रश्न समेत गरे । वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको र त्यसलाई आफूले खोसेको बताए ।

६ वर्षदेखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलिएको र नेपाली आकाश कालो सूचीबाट हट्दै गरेको समेत उनको दाबी छ ।

वायु सेवा निगम सुधार हुने क्रममा रहेको दाबी गर्दै उनले पर्यटन र संस्कृति नीति बनाउनु पनि स्टन्ड नै हो ? भन्दै प्रश्न गरे ।

‘अरु थुप्रैथुप्रै कामको फेहेरिस्त हामीसँग छ । यसलाई पनि स्टन्ड नै भनेर उडाइन्छ यहाँ,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖