काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ । प्रहरीको विशेष टोलीले चोरी भएको बच्चा आठ घण्टापछि फेला पारेको हो ।
काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट बच्चाको उद्धार गरेको हो ।
सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।
महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बच्चा चोरी गर्ने महिलाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामो बसेकी थिइन्,” एक प्रहरी अधिकारीले भने, “अहिले हामीले उद्धार गरिएको बच्चा आमाबुवालाई जिम्मा लगाइसकेका छौँ ।”
प्रहरीले अनुसन्नका लागि बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ । -बाह्रखरी
