पोखरा । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो ।
सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।
‘भुटानबाट आएर पोखरा विमानस्थलमा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए । यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो’, उनले भने ।
कर्णले भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको सुनाए । नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको थियो ।
भुटानबाट पोखरा आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए। पोखराबाट भुटान जाने पर्यटनमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक छन् ।
भुटानबाट पोखरा आएका पर्यटक र भुटान जाने पर्यटनका पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत र विदाई गरेको थियो ।
यसअघि पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी जहाज आएको थियो । उक्त विमान फर्किंदा खाली फर्किएको थियो ।
