वीरगञ्ज । छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन्।
अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन्। छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ। बच्चाको अवस्था समान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।
अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्को नाम दीपक कानु लेखाएकी छन्। उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए। यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए।
