• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वाफको फाइनलमा नेपाल र जोर्डन भिड्दै, साम्बाको ठाउँ कसलाई ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिपको फाइनल खेल आज राति हुँदैछ । फाइनलमा नेपाल र जोर्डन भिड्दै छन् ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि शुरु हुँदैछ । नेपाल मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले, दोस्रो खेलमा इराकलाई ५–० गोल अन्तरले र तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले हराएको थियो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरीयतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनशिपको डिफेन्डिङ च्याम्पियनसमेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरीयतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपालले भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको हो । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ ।

साम्बाले फाइनल नखेल्ने, उनको ठाउँमा को ?
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनशिपको फाइनलमा नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो। फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

साम्बाको स्थान कसले लिन्छिन् र उनले कस्तो भूमिका खेल्छिन् महत्वपूर्ण हुन्छ । साम्बा प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले ९ गोल गरेकी थिइन् ।

नेपाली महिला फुटबल टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।

डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल । फरवार्डः चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖