• Monday 5th of October 2026

भारतलाई पाकिस्तानको तीव्र गतिको बलिङकै डर


  • धनकुटा खबर
  • .

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलंकाको कोलोम्बोमा सुरुहुनेछ । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । भारत पहिलो जितको खोजीमा हुनेछ ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै सबैभन्दा बढी लोकप्रिय मानिने यस खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।

भारतको ब्याटिङ उत्कृष्ट छ । तर विश्वकै उत्कृष्ट पाकिस्तानको तीव्र गतिको बलिङ सामु रन जोड्न सहज हुनेछैन । समूह चरणमा भारतको १० विकेटनै पाकिस्तानका तीव्र गतिका बलरले लिएका थिए । यस खेललाई भारतको ब्याटिङ र पाकिस्तानको तीव्र गतिको बलिङको भिडन्तको रुपमा समेत लिएको छ ।

समूह चरणमा पाकिस्तान र भारतबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द हुन पुगेको थियो । आजको खेलमा पनि वर्षाले खेल प्रभावित हुने उच्च सम्भावना छ । भारत र पाकिस्तानबीचको खेलमा रिजरर्भ डे राखिएको छ । त्यसैले आज हुन नसके सोमबार खेल हुनेछ ।

भारत समूह चरणमा २ सय ६६ रनमा अल आउट भएको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार विकेट लिएका थिए । नसिम शाह र हरिस रौफले ३–३ विकेट लिएका थिए । बायाँ हाते बलर अफ्रिदीको स्वींग र गति खेल्न सहज हुनेछैन । समूह चरणमा कोहली र रोहित दुबै अफ्रिदीको बलमा बोल्ड आउट भएका थिए ।

बायाँ हाते बलर र इनस्वींग भारतीय ब्याटरको सबैभन्दा कमजोरी हो । उक्त कमजोरीमा पाकिस्तानी बलर पुन हाबी बन्ने सम्भावना छ । अफ्रिदीलाई अर्को एण्डबाट नसिम शाहले साथ दिनेछन् ।

शाहसँग बाउन्स, गती र स्वींग हुनेछ । त्यसपछि हरिस रौफ आउनेछन् । रौफको गति खेल्न सहज हुनेछैन । रौफ प्रतिघण्टा १ सय ५० किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् ।

पाकिस्तानका तीन तीव्र गतिका बलर मुख्य हतियार हुन् । समूह चरणमा भारत एक समय ६६–४ को अवस्थामा पुगेको थियो । हार्दिक पान्ड्या र ईशान किशनले पाँचौं विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए । साझेदारीको मुख्य कारण स्पिन आक्रामक कमजोर हुनु थियो ।

पाकिस्तानले मोहम्मद नवाजको स्थानमा फहिम अशरफलाई खेलाउनेछ । चार तीव्र गतिका बलर हुँदा पाकिस्तान खेलमा हाबी हुनसक्छ ।

पाकिस्तानका बाबर आजम ओडिआई वरियताका नम्बर वान ब्याटर हुन् । उत्कृष्ट ब्याटर बाबरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बाबर, उच्च लयमा रहेका ओपनर इमाम उल हक, फखार जमान र मोहम्मद रिजवान पाकिस्तान प्रमुख ब्याटर हुन् । जमान भने लयमा छैनन् ।

भारतविरुद्ध उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । मध्यक्रममा सलमान अघा र इफ्तिखार अहमदको प्रदर्शन महत्वपूर्ण हुनेछ । स्पिन आक्रामणमा सादब खान हुनेछन् ।

उता भारतको टोलीमा लोकेश राहुल र जस्प्रित बुमराह टोलीमा फर्किने सम्भावना छ । बुमराह मोहम्मद शामीको स्थानमा टोलीमा फर्किनेछन् । राहुल टोलीमा फर्किन ईशान किशनलाई बेन्चमा राख्नुपर्ने हुन्छ ।

तर पाकिस्तानविरुद्ध उनले ८२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । पछिल्ला चार इनिङमा अर्धशतक प्रहार गरेका छन् । त्यसैले ईशान र राहुल मध्य कसलाई खेलाउने निर्णय लिन भारतलाई सहज हुनेछैन ।

विराट कोहली, रोहित शर्मा र श्रेयस ऐर भारतका प्रमुख ब्याटर हुन् । कोहली र रोहितको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । हार्दिक र जडेजा अलराउन्डरको रुपमा खेल्नेछन् । बुमराह टोलीमा फर्किदा बलिङ आक्रामण मजबुत बन्नसक्छ । नेपालले भारतविरुद्ध सुरुवाती १० ओभरमा ६५ रन जोडेको थियो ।

पाकिस्तान भारतीय कमजोर बलिङको फाइदा उठान सक्छ । भारतको तीव्र गतिका बलरमा जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज हुनेछन् । स्पिनरमा कुलदीप यादव र रविन्द्र जडेजाको जोडी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖