• Monday 19th of October 2026

पुराना शक्तिसँगको सहकार्य आत्मघाती हुन्छः बाबुराम भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना शक्तिसँगको सहकार्य आत्मघाती हुने निष्कर्षमा पुगेको बताएका छन्। उनले पुराना शक्तिहरूको निजी सत्तालिप्सा र भ्रष्टाचारको भाइरस कोरोना जति खतरनाक रहेको जनाउँदै त्यसले नयॉ उदीयमान वैकल्पिक शक्तिहरूहरूलाई पनि संक्रमित गराइछाड्ने बताएका छन्।

‘नयॉ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको हाम्रो करीब एक दशकको प्रयोग र अनुभवले भन्छ-अग्रगामी वैकल्पिक शक्ति निर्माणकानिम्ति पुराना शक्तिहरूसंगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती हुन्छ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोरोना भाइरस जस्तै पुराना शक्तिहरूको निजी सत्तालिप्सा र भ्रष्टाचारको भाइरस यति खतरनाक छ त्यसले नयॉ उदीयमान वैकल्पिक शक्तिहरूहरूलाई पनि संक्रमित नगरी छाड्दैन।’

उनले अहिलेको परिवर्तित गठबन्धनप्रति कटाक्ष गर्दै वैकल्पिक शक्ति निर्माणको आवश्यकता रहेको थप पुष्टी गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘पछिल्लो गठबन्धन परिवर्तनसम्मको तमासा र उद्घाटित भैरहेका उच्च तहका भ्रष्टाचार प्रकरणहरूले देशमा अग्रगामी विचार र सफा राजनीति सहितको वैकल्पिक शक्ति निर्माणको स्पेस र औचित्य रहेको थप पुष्टी गरेको छ। अतः विगतका सकारात्मक र नकारात्मक अनुभवहरूबाट पाठ सिकेर देशमा भरपर्दो वैकल्पिक शक्ति निर्माणमा केन्द्रित बनौं।’

पछिल्लो समय माओवादीकेन्द्रसँग पार्टी एकताको विषयले नेसपामा विवाद उत्पन्न भइरहेको बेलामा उनले यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

नेसपामा बाबुरामले चैत ४ गते केन्द्रीय समिति र ५ गते कार्यकारिणी समितिको बैठक बोलाए पछि अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले बहिष्कार गर्न लागेपछि विवाद उत्कर्षमा पुगेको छ।

पार्टीमा बाबुराम र यादव पक्षबीच माओवादीसँग पार्टी एकता गर्ने विषयमा मतभेद देखिएको छ। बाुबराम एकता नगर्ने पक्षमा रहेका छन् भने यादव पक्षले तत्काल एकता गर्नुपर्ने बताइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖