काठमाडौँ । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा ती नामहरू सिफारिस गरेको हो ।
प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार सिफारिस गरिएका नाम निम्न छन् :
धिरेन्द्र शर्मा तिम्सिना (रमण)
उर्मिला तामाङ (चन्दा)
ओम बहादुर गुरुङ (सौरभ )
कुमार बराइली (अनिल)
२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ ।
यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेका छन् । पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
