• Tuesday 20th of October 2026

नयाँ पार्टी खोल्दै महतो


  • धनकुटा खबर
  • .

काठमाडौं : लोसपा त्यागेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यसका लागि उनले हालै तराई–मधेस, र पहाडी जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि उनी राजनीतिक संवादका लागि दिल्ली गएका थिए। बहुल राष्ट्रिय राज्य निर्माणका लागि ‘राष्ट्रिय मुिक्त क्रान्तिको माध्यमबाट’ नयाँ पार्टी खोल्न लागेको महतोले बताए। नेता महतोको समूहले फागुन १४ गते लोपसा त्यागेको थियो। राष्ट्रिय मुक्ति क्रान्तिका योजनाकार बुद्ध छिरिङ मोक्तानका अनुसार बहुल राष्ट्रिय राज्य स्थापनाका लागि ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अबधारणापत्र सार्वजनिक गरिएको छ। पार्टी गठनका लागि सामाजिक, सांस्कृतिक र वैचारिक छलफल भइसकेको छ।

मोक्तानले भने, ‘माक्र्सवाद र समाजवादले हाम्रो समस्या समाधान गरेन। त्यसैले हिमाल, पहाड, तराई जोड्न राष्ट्रिय मुक्ति क्रान्तिका लागि स्वदेशवादको नयाँ आवधारणा ल्याएका हौं। यसको आधारमा हाम्रो पार्टी निर्माण हुन्छ।’

आन्दोलनको आधार : स्वदेशवाद र बहुलराष्ट्रवाद
आन्दोलनबाटै वैकल्पिक शक्ति निर्माण गर्न महतो पक्षले राजनीतिक दस्तावेज तयारी गरेको छ। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता केशव झाले सबै दलका क्रान्तिकारी युवाहरूलाई बटुलेर आन्दोलनको दस्ता तयारी गरिने जानकारी दिए। ‘हाम्रा एजेन्डा र विचारमा सहमति खोजिरहेका छौं,’ झाले भने, ‘सहमत हुनेहरूलाई गोलबन्द गर्दै लगेका छौं। अब विकल्पसहितको विद्रोह गर्छौं। विकल्प भनेको बहुल राज्यको स्थापना गर्ने हो।’ यसका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु भएको झाले बताए। ‘हाम्रो पार्टीको विचार भनेको स्वदेशवाद हुन्छ,’ उनले भने, ‘स्वदेशवादको दर्शन भनेको सांस्कृतिक सापेक्षतावाद हुन्छ। स्वदेशवादको ऐतिहासिक पक्ष अहिलेसम्मका राष्ट्रिय संघर्षहरू र राजनीतिक अर्थशास्त्र भनेको सामुदायिक समाजवाद हुन्छ। यसमा काम गरिरहेका छौं।’

मुलुक पहिलेदेखि नै बहुल राष्ट्रिय राज्य भएपनि त्योअनुसार देशको शासन व्यवस्था सञ्चालन नभएको महतोले बताए। उनले भने, ‘एकल जातीय सत्ताले उत्पीडित जातजातिको भाषा, साहित्य, संस्कृति, पहिचान र भूगोलले राष्ट्रिय मान्यता पाएन।’ बहुल राष्ट्रिय राज्यको अवधारणा अनुसार संविधान बन्नुपर्ने उनको भनाइ छ। ‘देशको प्राकृतिक चरित्र भनेको बाहुल्यता हो, एकल होइन्,’ उनले भने, ‘नेपाल निर्माण हुनुभन्दा पहिलादेखि नै यहाँ धेरै राज्यहरू थिए। जसको आफ्नै भाषा, संस्कृति, भूगोल थियो। ती सबै मिलाएर नेपाल देश बनाइएको हो। तर, पहिचान मेटाइयो। देशका सबै जातजातीको पहिचान, भाषा, पहिरन, भूगोलले राष्ट्रिय मान्यता पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो। नेता मोक्तानले राज्यले सबै जातजाति र भाषाभाषीको सम्प्रभूसत्ताको ग्यारेन्टी गर्नुपर्ने बताए। व्यक्तिको स्वतन्त्रता, समानता र पहिचान सम्प्रभूसत्तासँग जोडिएको हुन्छ। तर, देशका सबैले यो अधिकार नपाएको र हेपिएरै बस्नु परेको अवस्था रहेको उनले सुनाए ।

‘यसअघि तराई, पहाड र हिमालबीच फाटो ल्याएर राजनीति गर्नेहरूले हामीबिच अविश्वास पैदा गरे,’ उनले भने, ‘अब हामी सबैतिरको उत्पीडितहरू एकै ठाउँमा आएका छौं। जुन राज्य सत्ताको टाउको दु:खाई हुने छ।’ नेता झाले राष्ट्रिय मुक्ति क्रान्तिको बलमा बलियो पार्टी बनाउने बताए। झाले भने,‘यसअघि हामीले पार्टी बनाउन सकेनौं। कम्पनी जस्तो भयो। एकल मनोपोलिमा पार्टी चल्यो। एउटा सांसद् र मन्त्रीका लागि स्वार्थ बाँझियो। त्यसले हाम्रो समस्या समाधान गरेन।’ मधेसी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम सबैलाई जोडेर क्रान्तिबाटै मात्रै बहुल राष्ट्रिय घोषणा हुने नेता झाको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖