• Monday 5th of October 2026

प्रचण्डसँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने भएको छ ।
यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । सोमबार बिहान प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने निर्णय गर्ने बताए ।

‘प्रधानमन्त्रीले जति सक्दो सानो भ्रमण टोली बनाउन निर्देशन पनि दिइसक्नुभएको छ । सोही अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ’,आचार्यले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीको चाहाना जम्बो टोली लिएर जाने छैन ।’

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक जान लागेका हुन् ।

अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖