• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग पहिलो टी–२० खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी–२० क्रिकेट प्रतियोगिता बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रम रहेको छ ।

यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो । नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न यसअघि नै आफ्नो छुट्टाछुट्टै टोलीको घोषणा गरिसकेको छ । क्यानले टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् ।

यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शुक्रबार खेलिने छ । तेस्रो टी–२० खेल भने आइतबार खेलिने छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो एकदिवसीय अप्रिल ३, दोस्रो एकदिवसीय अप्रिल ५ र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।

नेपालको राष्ट्रिय टोली भने भारतको घरेलु क्लबसँग त्रिकोणात्मक टी–२० शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ । भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडासँग टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणमा जाने टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द रहेका छन् ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा भने गरिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖