युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।
यससँगै वल्भ्सले सिरिज ३-० ले क्लिन स्विप गर्यो । वल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।
अर्जुन साउद र अर्जुन कुमालले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । अर्जुन १२ औं ओभरमा ३६ रन जोडेर आउट भए । ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरेका उनी ह्वाइटको बलमा बोल्ड भए ।
तेस्रो नम्बरमा आएका देव खनाल १७ बलमा ११ रन जोड्दै म्याथ्यु फोस्टरबाट बोल्ड भए । नरेन भट्ट र अर्जुन कुमालले ५१ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर नरेन १५ रनमा ह्वाइटबाट बोल्ड भए । त्यसपछि नेपालले नियमित विकेट गुमायो ।
कप्तान विनोद भण्डारी मात्र ४ रनमा आउट भए । भीम सार्की पहिलो बलमै पेभेलियन फर्किए । अर्जुन पनि शतक पूरा गरेपछि आउट भए । उनी ३५ औं ओभरमा ह्वाइटलाई आक्रमण गर्ने धुनमा अघि बढ्दा स्टम्पिङ आउट भए ।
रिजन ढकाल खाता नखोली आउट हुँदा साहब आलमले ६ रनको योगदान दिए । वल्भ्सका लागि ह्वाइटले ५ विकेट लिए । ग्याभिन होएले ४ विकेट तथा म्याथ्यु फोस्टरले १ विकेट हात पारे ।
