• Monday 5th of October 2026

भेरीमा भेटियो पुरुषको शव, भदौ ११ देखि बेपत्ता मेजर


  • धनकुटा खबर
  • .

काठमाडौँ : डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव मंगलबार भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको हो। शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। स्थानीयले शव भेटिएको उक्त स्थानलाई खदाङ भनेर चिनाउँछन्। यो डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र हो।

डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिमतर्फ खदाङस्थित भेरी नदीमा पुरुषको शव भेटिएपछि सुरक्षा बल खटाइएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए। ‘शव भेटिएको कुरा आएको छ। तर अहिलेसम्म पहिचान भइसकेको छैन’, उनले भने, ‘स्थानीयले खबर गरेलगत्तै डीएसपी सा’वको नेतृत्वमा एउटा टोली गइसकेको छ। भेरीबाट निकाल्न सकियो भने पहिचान गर्न सकिएला।

शव भेटिएको क्षेत्रमा नेपाली सेनाका दुईवटा टोली गएका छन्। भदौ ११ गतेदेखि विमल पण्डित बेपत्ता भएपछि उनका बुवा र काका अहिले डोल्पामै छन्। प्रजिअ पोखरेलले मेजर पण्डितका नाताहरु जिल्लामा आएर खोजीमा लागिरहेको बताए। उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको हो।

भेरीको पानीमै देखिए पनि शरीरमा कपडा नभएको अवस्थामा शव छ। उक्त शवबारे स्थानीयबासीले दुनैस्थित प्रशासनलाई खबर गरेका थिए।भेरीबाट उक्त शव निकाल्न अहिले गोताखोरसहितको टोली पनि नेपाली सेना र सशस्त्र प्रहरीले लिएर गएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖