• Monday 5th of October 2026

सुवास नेम्वाङको त्यो अन्तिम भाषण, मलाई त स्वर्ग र नर्कमा विश्वास छैन !


  • धनकुटा खबर
  • .

काठमाडौँ । निधन हुनुभन्दा तीन दिनअघि अर्थात् गत भदौ २३ गते संविधान सभाका अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ धरानमा थिए । उनी सो दिन पार्टी निकट युवा संघ नेपालले गरेको कार्यक्रममा सहभागी हुन धरान पुगेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी भएका नेम्वाङले उक्त कार्यक्रममा संसद्, सरकार, शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका विषयमा निकै भावुक सम्बोधन गरेका थिए ।

संसद् कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद् चलाउनका लागि काठमाडौँ पुग्नुपर्छ’, नेम्वाङले कार्यक्रमको सुरुमै भनेका थिए, ‘हामी जिम्मेवार प्रतिपक्षी भएनौँ भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद् चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ’, नेम्वाङले चिन्ता र चासो प्रकट गरेका थिए ।

सम्बोधनका संसदीय समितिको प्रसङ्ग समेत निकालेका थिए । ‘संसद् चलेपछि कति वटा विधेयक पास गर्‍यो ? संसद्मा विधेयक कसले ल्याउँछ ? सरकारले होइन ? सरकारले कति वटा विधेयक दियो ? उनले भनेका थिए, सरकारले बिजनेस नदिएपछि कसरी संसद् चल्छ ?’, नेम्वाङमा चिन्ता देखिन्थ्यो ।

साथै उनले आफ्नै नेतृत्वमा जारी भएको संविधानको पटक पटक स्मरण गरेका थिए । कार्यक्रममा निकट रहेको असोज ३ अर्थात् संविधान दिवसको स्मरण गरेको उनले भनेका थिए– असोज ३ निकट आएकाले मैले यो कुरा भन्नैपर्छ ।

के भनेका थिए असोज ३ बारे नेम्वाङले ?

अब संविधान दिवस हाम्रो ढोकामा आइपुगेको छ । यो अवसरमा म यति कुरा कोट्याउन चाहन्छु । हामीले राम्रो संविधान बनायौँ । तपाईँहरूको आशीर्वादले, तपाईँहरूको शुभकामनाले, तपाईँहरूको मायाले दुवै पटक संविधान सभाको अध्यक्षता गर्ने, ३१ वटै राजनीतिक दलले सर्वसम्मतिले मलाई संविधान सभा अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख हामीले बनायौ र जारी गर्‍यौँ ।

हामीले ढुक्कसँग, विनम्रतासँग, कुनै अहम् नराखीकन जनताको बीचमा यो कुरा भन्न सक्नुपर्छ–जनताले जनताका लागि बनाएको संविधान हो । त्यो संविधान पहिलो पटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौँ । समावेशी संविधानसभाबाट शून्यबाट माथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताका लागि हामीले संविधान बनायौँ ।

नेपालको यो संविधान हाम्रो नेतृत्व, पहल र प्रयासमा जनताले बनाएको संविधान हो । तराई मधेसदेखि हिमालसम्मका जाती, भाषा, धर्म, संस्कृतिका जनतालाई देखाएर भन्नुस्–यो लिम्बुले बनाएको संविधान, राईले बनाएको संविधान, यो ब्राह्मणले बनाएको संविधान,यो क्षेत्रीले बनाएको, दलितले बनाएको,महिलाले बनाएको, तराई मधेसदेखि हिमालसम्मका सबै जाती भाषा, धर्म संस्कृतिका जनताले बनाएको संविधान ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता,समावेशिता फेरि म दोहोर्‍उँछु–पहिलो पटक नेपालको इतिहासमा समावेशी संविधान । अनि संविधान समावेशी बनाउने पार्टीलाई, संविधान समावेशी बनाउने पहिलो पटक नेपालको इतिहासमा त्यो पार्टीलाई तँ समावेशी भइनस् कोही मित्रले भन्छ भने तपाई हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?

ढुक्कै भएर अगाडि बढ्नुस् कमरेडहरू, युवा मित्रहरू । यो देशको इतिहासमा मात्रै होइन, विश्वकै इतिहासमा यतिको समावेशी संविधान बनेको छैन । व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा, सम्बन्धित कानुन कहीँ कतै कमीकमजोरी भएका होलान् । ती कमीकमजोरी हामी सच्चाउँछौ र अगाडि बढ्छौ भनेर अघि बढ्दा समावेशी संविधान बनाउने पार्टीलाई, त्यसका नेतालाई यो चाही समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामी त हाँसेर, ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौ लौ भन– म त भन्ने गर्छु न भुतो न भविष्य !

पहिचानको दुनियाँमा, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौ त्यति अरू कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको होइन, हामीले मौका पायौँ, गरेर देखायौँ । भन्नुस् धर्मनिरपेक्षता कसले घोषणा गर्‍यो ? धर्मनिरपेक्षता हामीले घोषणा गर्‍यौ । जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरूको आशीर्वाद र शुभकामनाले ।

त्यो पुनर्स्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद र सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही कोही साथीभाइहरूले सुवासले खुसुक्कै धर्मनिरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँ ।

त्यस्ता केही साथीहरू हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो ताल त दक्षिणपट्टीबाट पनि केही साथीहरू आउनुभयो रे ! यो धर्मनिरपेक्षता घुसाउने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन म अलिक बिर्सने मान्छे । को साथीहरू हुन् ? के हुन् कसो हुन् ? कुनै दिन समय लिएर अलिक व्यापक रूपमा भनौला यसबारेमा । म कहिले रिस नउठ्ने मान्छे । त्यसैले रिसाइनँ ।

तर अलिअलि रिस उठ्यो होला जम्मै कुरा सुनाएर के भने त भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन् यिनीहरू । म त कम्युनिस्ट परेँ । एमालेको इमानदार कार्यकर्ता । मलाई त स्वर्ग नर्कमा विश्वास छैन । तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाही सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यति रिसाएको त भएन नि हैन ?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖