• Monday 5th of October 2026

भोलि राष्ट्रिय शोक बिदा, झण्डा आधा झुकाइने


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो।

नेम्वाङको मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो। आजै बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गरिने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेम्वाङको बिहीबार ११ बजे अन्त्येष्टि गर्ने मिति तय भएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

त्यस्तै उक्त नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

‘संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०।०५।२६ गते बिहान असामयिक निधन भएको छ। नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको।

स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौं २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖