• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप अगाडि सबैलाई अवसर दिइयो : कप्तान पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकप अगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज ‘ए’ सँग बुधबारको खेलका केही खेलाडीलाई अवसर दिएको बताएका छन् ।

बुधबारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन । हारपछि कप्तान रोहितले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको बताए ।

सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो शृङ्खलामा धेरै खेलाडीलाई अवसर दिइएको रोहितले उल्लेख गरे । उनले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू आजको खेलमा विश्राम लिएको उल्लेख गरे ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेट नेसनका रूपमा नेपाललाई स्थापित गर्न स्पष्ट भिजन आवश्यक हुने बताए । सोहीअनुरूप नेपाली क्रिकेटको व्यवस्थापकसँग लगातार छलफल भइरहेको र वेस्ट इण्डिज ‘ए’ सँगको श्रृंखला राखिएको स्पष्ट पारे ।

प्रशिक्षक मोन्टीले विश्वकपका लागि अन्तिम १५ खेलाडीका बारेमा पनि टोली स्पष्ट रहँदै आएको पनि उल्लेख गरे । उनले लेग स्पिनको आवश्यकताअनुरूप कुशल भुर्तेललाई सो जिम्मेवारीमा काम गराउँदै आइरहेको पनि स्पष्ट पारे ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार नै वेस्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिसकेको छ । रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमलसिंह ऐरी र सागर ढकाल छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖