• Thursday 22nd of October 2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा रत्ननगर नगरपालिका- ३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका- ४ का सुमन गदालको घरमा ठोक्किएको थियो।

उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

यसैबीच, रासस प्रतिनिधिले सर्लाहीको बरहथवाबाट पठाएको समाचारअनुसार जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा एक जना महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

गए राति मलंगवा नगरपालिका- १, भेडियाहीमा मोटरसाइकलको ठक्करबाट ठक्करबाट सोही स्थानकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनालगत्तै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएकामा उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्लाको रामनगर गाउँपालिका- ५, बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्।

मलंगवाबाट बलरातर्फ जाँदै गरेको ज१झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय दर्ता नम्बरको बिआर ३० एफ ५४६१ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖