• Monday 5th of October 2026

अन्त्येष्टिका लागि निवासबाट निकालियो नेम्वाङको पार्थिव शरीर


  • धनकुटा खबर
  • .

काठमाडौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि बालुवाटारस्थित निवासबाट निकालिएकाे छ ।

लिम्बू संस्कृतिअनुसार विधि गरी उनको शव आज बिहान निवासबाट निकालिएको हो ।

नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

विदेशमा रहेका २ छोरा आउन केही ढिला भएकाले नेम्वाङको अन्त्येष्टि केही ढिला भएको हो । छोराहरू बुधवार नै नेपाल आइसकेकाले अन्त्येष्टि आजका लागि तय भएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिनिधिसभाका पूर्वसभामुख तथा पूर्वकानूनमन्त्रीसमेत रहेको नेम्वाङको सोमवार मध्यराति निधन भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖