• Friday 23rd of October 2026

आज सन्दीपको मुद्दा पेसीको पहिलो नम्बरमा, ‘फाइनल’ हुने सम्भावना


  • धनकुटा खबर
  • .

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन सुनुवाइ गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ।

यसअघि तीनपटक पेसी तोकिएर पनि ‘फाइनल’ हुन नसकेको सो मुद्दा आज भने पेसी सूचीमा पहिलो नम्बरमै परेकाले सुनुवाइ हुने सम्भावना बढी रहेको सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए।

‘आज सन्दीपको मुद्दा पेसीको पहिलो नम्बरमै परेको छ’, अधिवक्ता घिमिरेले नेपालखबरसँग भने, ‘आज कुनै शक्तिले प्रभावित पारेन भने पक्कै सुनुवाइ हुन्छ। र, कुनै प्रमाण बुझ्न पनि बाँकी नरहेकाले फैसला नै हुने विश्वास छ।’

वैशाख ३ गतेको पहिलो पेसीमा उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दियो।

त्यसपछि वैशाख १० गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखियो।

फेरि वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा पेसी त तोकियो तर समय अभाव भन्दै मुद्दा सुनुवाइ गरिएन।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला गरेको छ। सोप्रति असहमति जनाउँदै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।

त्यसो त उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै अझै बढी सजाय हुनुपर्ने माग राखेर पुनरावेदन गरिएको छ।

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदन सँगै राखेर एकसाथ सुनुवाइ गर्न लागेको हो।

यसबीच सन्दीपले आफूलाई षड्यन्त्रमा फसाइएको र यसमा संलग्नहरूको नाम सार्वजनिक गर्ने दाबी पनि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖