२४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।
आइतबार पार्टी विभाजन भएपछि आज, सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरुद्ध भत्र्सना गर्नेलगायतका निर्णय गरेको हो ।
प्रदेश सांसद रामअशिष यादवका अनुसार पार्टी फुटको षड्यन्त्र गर्नेविरुद्ध भत्र्सना गर्दै अगामी दिनमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो।
जसपाका १९ प्रदेश सभा सदस्यहरूमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित थिए ।
सरोज सिंह कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताए । आफू बैठकमा उपस्थित हुन नसके पनि छलफलको विषयमा फोनमा आफ्नो मत राखेको प्रतिक्रिया दिए । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन ।
आजको बैठकले जनमत पार्टीले अवरुद्ध गर्दै आएको संसद् सञ्चालनका लागि वार्ता र संवादको मार्फत अघि बढ्ने निर्णय पनि गरेको छ ।
