• Friday 23rd of October 2026

ओली-प्रचण्डका लागि जसपा विभाजन : एक तीर, दुई शिकार !


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्ता साझेदार दलहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दह्रो समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) फुटाउन अशोक राईलाई ‘बल’ दिए, जसपा प्रचण्ड नेतृत्वकै सरकारमा सहभागी छ । त्यसका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री छन् ।

जसपा त विभाजन भइहाल्यो । तर, त्यसको खतरा अरु दलतर्फ पनि सोझिने विश्लेषण भइरहेको छ जुन, स्वाभाविकजस्तो लाग्दछ । यसले प्रचण्ड नेतृत्वको सरकारमा सत्ता साझेदारकै रूपमा रहेको नेकपा (एकीकृत समाजवादी) लाई छुनसक्ने खतरा बाँकी नै छ ।

यसपछि सम्भावित खतरा टार्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एक सांसदले बताएअनुसार बैठकमा अध्यक्ष नेपालले सांसदहरूलाई पार्टी विभाजनको कदम चालिए साथ नदिनु भनेर सम्झाउने छन् ।

त्यसो त जसपा विभाजनले मुख्यत: दुईवटा काम एकसाथ गरेको छ । पहिलो— एकीकृत समाजवादीको बार्गेनिङ समाप्त भएको छ । दोस्रो— वैकल्पिक गठबन्धन बनाउने कांग्रेसको प्रयास कमजोर भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्लो सत्ता गठबन्धनसँग त्यति खुसी छैनन् । उनकै भाषामा भन्दा उनलाई गठबन्धनप्रति मनमा चैन छैन ।

सत्ता गठबन्धन बन्नुलाई सोझै ‘शक्ति बाँडफाँटको प्रक्रिया’ मानेका अध्यक्ष नेपालले आफूले चाहेअनुरूप भाग नपाएको भन्दै बार्गेनिङ जारी नै राखेका थिए । यत्तिसम्म कि केहीअघि मात्रै बालुवाटार छिरेका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई ‘सत्ता गठबन्धन जतिबेला जे पनि हुनसक्छ’ भनेर चेतावनी दिएर हिँडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖