• Friday 23rd of October 2026

भारतबाट आउने प्याजको मूल्य ४० प्रतिशत महँगो


  • धनकुटा खबर
  • .

काठमाडौं : भारतले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध शनिबारदेखि हटाएको छ। निर्यात प्रतिबन्ध हटाए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्कसमेत लगाएको छ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै नेपाली बजारमा प्याजको मूल्य घट्ने अपेक्षा गरिएको तर भारतले निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य ४० प्रतिशतले महँगिने आलुप्याज व्यवसायी महासंघका महासचिव प्रकाश गजुरेल बताउँछन्।

‘हामीले भारतमा किन्दा प्रतिकिलो २० रुपैयाँ पर्थ्यो। अब भने ४० प्रतिशतले बढ्दा २८ रुपैयाँ प्रतिकिलो पर्छ। नेपालमा पनि त्यसैअनुसार वृद्धि हुन्छ,’ उनले भने। अहिले नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औसत ६० रुपैयाँ रहेको छ। ४० प्रतिशत भ्याट थप गर्दा प्रतिकिलो ८४ रुपैयाँ पुग्ने उनको भनाइ छ।

भारतले पनि शनिबारदेखि नै लागू हुने गरी प्याजको मिनिमम एक्सपोर्ट प्राइस (एमईपी)प्रतिमेट्रिक टन प्याजलाई ४५ हजार ८ सय भारतीय रुपैयाँ तोकिसकेको छ।

भारतले गत वर्षको अगस्टदेखि ३१ डिसम्बरसम्म प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क तोकेको थियो। यस्तै ८ डिसेम्बरदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य ८० भारतीय रुपैयाँ पुगेको थियो।

भारतमा यो वर्ष १ करोड ९१ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ। भारतीय बजारमा मासिक १७ लाख टन प्याजको खपत हुन्छ। भारतले यो वर्ष प्याजको ५ लाख वफर स्टक राख्ने गृहकार्यसमेत सुरु गरेको छ।

गत वर्षको अप्रिलमा भारतको उपभोक्ता मन्त्रालयले ९९ हजार १ सय ५० टन प्याज बंगलादेश, युनाइटेड अरब इमिरेट्स, भुटान, बहराइन, मौरिसस र श्रीलंकालाई निर्यात गर्ने विशेष व्यवस्था गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖