• Monday 19th of October 2026

विहिवार सम्म वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । देशका केही स्थानमा अझै तीन दिन वर्षाको सम्भावना छ । मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको आइतबारयता काठमाडौंसहित देशका धेरै स्थानमा वर्षा मापन गरिएको छ । यो अवधिमा हल्कादेखि मध्यमसम्म वर्षा मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।

पछिल्लो एक घण्टा (दिउँसो १ बजे दिएको जानकारी)मा कोसी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

काठमाडौंका एक/दुई स्थानमा आज बिहान पनि वर्षा भएको उनले बताए । काठमाडौंमा दिउँसो र राति समेत वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

“काठमाडौंमा पनि दिउँसो, साँझ र राति वर्षाको सम्भावना छ,” उनले भने, “हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।”

देशका धेरै स्थानमा बुधबार (भोलि) पनि मौसम आजको जस्तै हुने सम्भावना छ । “भोलि (बुधबार) पनि आजको जस्तै देखिन्छ,” उनले भने, “तर, कहाँ, कतिखेर र कति पानी पर्छ भन्ने फरक–फरक हुन्छ । सबै ठाउँमा एकै किसिमको वर्षा हुने हुँदैन ।” काठमाडौंमा पनि बुधबार वर्षाको सम्भावना रहेको उनले बताए ।

उनका अनुसार, आउँदो बिहीबारसम्म काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । “अहिले स्थानीय वायु, पश्चिमी वायु, भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ,” उनले भने, “बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि पूर्वतिर परेको देखिन्छ ।”

आउँदो बिहीबारपछि पनि सुक्खा नै हुने स्थिति नदेखिएको उनले बताए । “हामी (महाशाखा)ले बिहीबारसम्म बादल लाग्ने र वर्षाको पूर्वानुमान गरेका छौँ । हामीले दैनिक तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छौँ,” उनले भने, “त्यसपछि पनि खडेरी नै पर्ने स्थिति देखिँदैन । तर, धेरै दिन परको मौसमबारे ठ्याक्कै भन्न सकिँदैन ।”

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖