• Friday 23rd of October 2026

कांग्रेसले सरकारको जग हल्लाउन खोज्यो, छानविन समिति बन्दैनः महेश बर्तौला


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी ठगी प्रकरणमा कुनै व्यक्तिलक्षित गरेर छानविन समिति बनाउन सम्भव नरहेको बताएका छन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेले संसद् सुचारु गर्ने विषयमा बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले कांग्रेसको उक्त माग न्यायोचित नरहेको बताए । उनले भने, ‘कांग्रेसले आफ्नो केही विषयवस्तुहरु राखेको छ । कांग्रेसले राखेको विषयवस्तु के न्यायोचित छैन भने उहाँहरु कुनै अमुक व्यक्ति, विशेष गरी गृहमन्त्रीलक्षित रहेरमात्रै समितिको जे कुरा गरिरहनु भएको छ, त्यो कुरा चाहीँ सम्भव छैन ।’

समग्र सहकारी पीडितहरुले न्याय पाउनु पर्छ भन्ने कुरामा संसदीय समिति बनाउने कुरा र संसद्मै रहेका समितिहरुले काम गर्ने कुरामा कुनै विमती नरहेको उनले बताए । तर, आम सहकारी पीडितका बारेमा नबोली कुनै व्यक्ति दोषी छ, उसलाई कारबाही गर्नुपर्छ भनेर कांग्रेस अगाडि बढेको उनले बताए । कांग्रेसले आफूलाई अलोकतान्त्रिक ढंगबाट प्रस्तुत गरिरहेको उनले बताए ।

बर्तौलाले पहिला अरुको कुरा सुन्नसक्ने सामथ्र्य कांग्रेसले राख्नुपर्ने बताए । आफूहरुले संसद्बाट गृहमन्त्रीलाई सुन्न चाहेपनि कांग्रेसको कारण सम्भव नभएको उनले बताए ।

वर्तमान सरकारको जग हल्लाउने राजनीतिक उद्देश्य राखेर कांग्रेसले गृहमन्त्री लामिछानेका बारेमा विषयको उठान गरेको उनको आरोप छ । ‘कांग्रेसले उठाएको विषय यो सरकारको जग हल्लाउने उद्देश्य राखेर उठाएको विषय हो । हामी राम्रोसँग बुझ्दछौं । त्यसकारणले गर्दा २८ गतेको बैठकमा सबै नेताहरुले बोल्नुहुनेछ । सहजताका साथ हाउस अगाडि लानका लागि नेपाली कांग्रेसले सहयोग गर्नेछ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖