काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई दिन बाँकी रहेको रकम तत्काल उपलब्ध गराउने बताउनुभएको छ ।
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट खेलाडीलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार १९ औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ कार्यक्रममा बोल्दै प्रचण्डले यसअघि घोषणा भएका सबै पुरस्कारको रकम प्रदान गरिने बताउनुभयो । ‘भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले खेलाडीका अथक मेहनत र परिश्रमले आफूलाई गौरवान्वित गराएको बताउनुभयो । उहाँले यस पटकको खेलमा पनि नेपालले सफलता प्राप्त गर्ने उहाँको भनाइ छ । आफू पनि दक्षिण एसियाली खेल हेर्न आउने प्रचण्डले बताउनुभयो ।
खेल कूटनीति मार्फत ठुला ठुला युद्ध र द्वन्द्वलाई समाप्त गर्न सकिने उहाँले बताउनुभयो । भयो खेल कूटनीति मार्फत विश्व एकता र पुनर्मिलनको आधार तयार भएका उहाँको भनाइ छ ।
नेपालमा छोटो समयमा खेल क्षेत्रमा तीव्र विकास भएको बताउनुभयो । अझै पनि आवश्यक पर्ने पूर्वाधार नभएको भन्दै उहाँले आधुनिक सुविधा सम्पन्न रंगशाला र र कवर्डहल बनाउने कुरामा चीन भ्रमणको क्रममा पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।
अहिले आर्थिक रूपले सहज परिस्थितिमा नरहेको भए पनि खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिइरहेको बताउनुभयो । खेल क्षेत्र राम्रो होस् भन्ने सबैको चाहना रहेको प्रचण्डको भनाइ छ ।
