• Monday 19th of October 2026

इनारभित्र पुरुषको शव, छातीमा बच्चा अनि नाडीमा शिवको ट्याटु


  • धनकुटा खबर
  • .

भरतपुरमा इनारभित्र एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षका उनको नाम, थर र वतन भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हिजो भरतपुर–१० मा इनारभित्र मान्छे डुबेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । १७ नम्बर गण आँपटारीबाट सहायक प्रहरी नायव उपरीक्षकको टोलीसँगै नेपाली सेनाको विपद् व्यवस्थापनसहितको समूह खटिएर करिब सवा ३ बजेतिर इनारभित्रबाट शव बाहिर निकालिएको बताइन्छ ।

प्रारम्भिक अनुसन्धान पश्चात घटनास्थल, लाशजाँच मुचुल्कालगायत अन्य अनुसन्धान कार्य भइरहेको छ । हालसम्म सनाखत हुन नसकेका मृतकको उचाइ ५ फिट ५ इञ्च छ । मंगोलियन वर्णका उनले कलेजी रंगको चेनवाला हुडी, खरानी रंगको टिसर्ट र खरानी रंगकै जिन्स पाइन्ट र सेतोकालो रंगको कन्भर्स जुत्ता लगाएको देखिन्छ ।

मृतकको छातीमा दाहिनेपट्टि बच्चाको ट्याटु खोपिएको छ । बायाँ हातको नाडीमा भगवान शिवको ट्याटुसमेत रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖