• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित


  • धनकुटा खबर
  • .

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० विश्वकपमा सबैभन्दा कम उमेरमा टोलीको कप्तानी गर्ने अवसर पाएने भएका छन् ।

दश वर्ष पछि नेपालले विश्वकप खेल्दै गर्दा नेपाली टोलीको कप्तानी गर्न मैदानमा रहने पौडेलले आफ्नो नाममा अर्को एक कीर्तिमान बनाउँने छन् । पौडेलले हङकङका जेम्स एटकिन्सनको नाममा रहेको कीर्तिमान भङ्ग गर्दै टी-२० विश्वकपमा टोलीको कप्तानी गर्ने सबैभन्दा कान्छा कप्तान बन्ने छन् ।

२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालविरुद्ध नै कप्तानी गरि जेम्सले यो कीर्तिमान बनाएका थिए । जेम्सले नेपालविरुद्ध २३ वर्ष २ सय ५ दिन रहँदा कप्तानी गरेका थिए । सो खेलमा जेम्सले सोमपाल कामीबाट बोल्ड आउट हुनु अघि ६ रन मात्र बनाएका थिए ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालले ४ जुन २०२४ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्दै गर्दा २१ वर्ष २ सय ७६ दिन रहँदा टीम नेपालको कप्तानी गर्ने छन् । पौडेलले २१ वर्ष २५ दिनमा नेपालका लागि टी-२० आईमा कप्तानको रुपमा डेब्यु गरेका थिए ।

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖