• Monday 19th of October 2026

कहाँ कति पानी पर्‍यो?


  • धनकुटा खबर
  • .

शनिबार रातिदेखिको वर्षाले बुटवलका मुख्य बजार अमरपथसहित विभिन्न क्षेत्र डुबानमा पर्‍यो।

अमरपथसँगै पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परेका छन्।

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पूर्व अधिकांश स्थानमा वर्षा भएका छन्।

लुम्बिनी, गण्डकी, कोशी प्रदेशका केही भागमा भारी वर्षा भएका छन्।
विभागका अनुसार रुपन्देही क्षेत्रमा आइतबार भारी वर्षा मापन भएको छ। १० मिलिमिटरभन्दा माथिलाई मध्यम वर्षा भनिन्छ। ५० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

मौसमविद् सञ्जिव अधिकारीले प्रभावमा आधारित मौसम पूर्वानुमान गर्न नसकिएको बताए।

‘प्रभावमा आधारित मौसम प्रणाली विकास हुन सकेको छैन। त्यसैले कहाँ असर पुर्‍याउँछ भनेर अनुमान गर्न गाह्रो भएको छ,’ उनले सेतोपाटीसँग भने।

जल तथा मौसम विज्ञान विभागले दिउँसो तीन बजे अद्यावधिक गरेको विवरणअनुसार लुम्बिनीदेखि पूर्वका अधिकांश भागमा वर्षा भएका छन्।

तिलोत्तमा क्षेत्रमा पछिल्लो २४ घन्टामा ५५ मिलिमिटर वर्षा भएको छ। भैरहवामा १०.६, रुपन्देहीमा १२.४ मिलिमिटर वर्षा भएको छ।
पाल्पाको बल्याङगढीमा भारी वर्षा भएको छ। विभागका अनुसार त्यहाँ पछिल्लो २४ घन्टामा ८७.४ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउरालीमा पछिल्लो २४ घन्टामा ९६.६ मिलिमिटर वर्षा भएको छ।
मधेस प्रदेशका केही स्थानमा अति भारी वर्षा भएको छ।

बाराको अम्लेखगञ्जमा १०६.६ मिलिमिटर वर्षा मापन भएको छ। पर्साको मुडलीमा ८२.२, सर्लाहीको पत्थरकोटमा ८५, सप्तरीको बरमझियामा १०५.८ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै मोरङको लेटाङमा १०३, इलाममा ९९ मिलिमिटर वर्षा मापन भएको छ। मौसमविद् अधिकारीका अनुसार आइतबार देशैभरि बदलीको अवस्था छ। अब क्रमशः पानी पार्ने बादल सुदूरपश्चिमतिर सर्दै गरेको हुनाले ती भेगमा पनि वर्षा हुने सम्भावना रहेको छ।

उनले सोमबार र मंगलबार आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको बताए। ‘तीन दिनको आकलन गर्दा सोमबार र मंगलबार कम वर्षात् हुनेछ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖