• Monday 5th of October 2026

नेकपा एस मा खैलाबैला, खनाल समूह आन्दोलनमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्य विभाजनप्रति असन्तुष्टि देखिएको छ ।

भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौँ केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औँ सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले अन्तर पार्टी निर्देशन जारी गरेको थियो ।
अपानिमा केन्द्रीय कमिटीले कार्यादेश नै नदिएको र सचिवालय बैठकले गर्दै नगरेको निर्णय सर्कुलरका रूपमा पठाइएको भन्दै असन्तुष्टि बढेको एक केन्द्रीय नेताले बताए ।

‘केपी शर्मा ओलीको पार्टी र यो पार्टीमा कुनै फरक देखिएन । कोठाबाट अपानि जारी गर्ने काम भयो । अपानिले केन्द्रीय कमिटीले गरेका निर्णय नचिन्ने र त्यसको मर्म नबोक्ने अवस्था आयो, यो अविलम्ब सच्याउनुपर्छ,’ ती नेताले भने ।

एकीकृत समाजवादीले बिहीबार अन्तर पार्टी निर्देशन जारी गरेको थियो ।
केन्द्रीय कमिटी सदस्य मोहन गौतमले अपानिमा उल्लेख भएका मनोनयन र जिम्मेवारी हेरफेरलाई लिएर व्यक्त असन्तुष्टि, विरोध, विधि र मापदण्डप्रतिका कतिपय प्रश्नहरू जायज भएको बताएका छन् । यसलाई स्वीकार गर्दै सच्याउन सके मात्र नेतृत्व र पार्टी स्थापित हुने उनको भनाइ छ ।

‘यो रूपान्तरणको टर्निङ प्वाइन्ट पनि हुनसक्छ । हजार कुरा र तर्कभन्दा एउटा काम बढी महत्त्वको हुन्छ । अतः कुनै कुरा गलत भयो भन्दैमा त्यसबाट टाढा हुने होइन, भित्रै पसेर गल्तीलाई हटाउन असलहरूका बीच सहकार्य गरौं,’ उनले भनेका छन् ।

गौतम पार्टी अध्यक्ष माधवकुमार नेपालको सचिवालयमा समेत छन् ।
यता सम्मानित नेता झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले पनि अपानिबाट देशभरका कार्यकर्तामा उत्साह होइन, निराशा छाएको बताएका छन् ।

‘देशभरबाट आएको असन्तुष्टिलाई बेलैमा नेतृत्वले सच्याओस् र गलत भएको कुरा स्वीकार गर्दै पार्टी कमिटीबाट निर्णय गराएर मात्रै अपानि होस् । त्यसबाट मात्रै पार्टी प्रणाली संस्थागत हुन्छ,’ उनले भनेका छन् ।
अपानि जारी गरेपछि पार्टी छाड्ने क्रम सुरू भएको छ । केन्द्रीय सदस्य राजु गुरूङले पार्टी परित्याग गरेको बताएका छन् । उनी लुम्बिनी प्रदेशका सचिव पनि हुन् । गत निर्वाचनमा उनी रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । तर, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतको उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको उनले बताए ।

‘मनोमानी ढंगले कार्यविभाजन गरियो । नेताहरूको कार्यशैली पनि चित्तबुझ्दो भएन,’ उनले भने, ‘जिम्मेवारी दिँदा कसैलाई खातैखात भयो, कसैलाई केही भएन । यसबारे मैले पार्टीमा आवाज उठाउँदै आएको थिएँ । तर, सुनुवाइ नभएपछि बसिरहन उपयुक्त ठानिनँ ।’

उनले आफूले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि अहिले नेताहरूले सच्याउने प्रतिबद्धता जनाएको पनि बताए ।

केन्द्रीय सदस्य सावित्री मल्लले पनि पार्टी परित्याग गरेको बताएकी छन् ।
‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन, तर आजका मितिदेखि नेकपा (एकिकृत समाजवादी) पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनलाई पार्टीले दैलेखको सहइन्चार्जको जिम्मेवारी दिएको छ । बरुनाथ योगी इन्चार्ज तोकिएका छन् । उनले इन्चार्जको भूमिका खोज्दै आएकी थिइन् । नपाएपछि असुन्तष्ट बनेकी हुन् ।

युवा संघका महासचिव दीपक जिएमले त नेकपा (एकिकृत समाजवादी) पार्टी अमुक व्यक्तिलाई ‘ओली’ बनाउन निर्माण नगरिएको बताएका छन् ।
‘ओली हुन पाइनँ भनेर विद्रोह गरेको पनि होइन । ओली प्रवृति वा तानाशाह हुन नखोजियोस्,’ उनले भनेका छन्, ‘त्यस्ता तानाशाहहरूको अवसान निर्मम हुनेगरेको इतिहासमा पाइन्छ ।’

एक नेताले दिएको जानकारी अनुसार भर्खरै पार्टी प्रवेश गरेकालाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि बढेको छ । अनेरास्ववियूको वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष सुदेश पराजुलीसँगै बिदा भएका ओसिम आलमलाई केन्द्रीय सदस्य बनाउनुपर्ने कुरा उठेको थियो ।
२१ जना मनोनीत हुँदा उनी परेनन् । कार्यविभाजन र जिम्मेवारी हेरफेरबाट असन्तुष्टि जनाउँदै देशभरबाट फोन आइरहेको र सच्याउनुको विकल्प नरहेको झलनाथका स्वकीय सचिव भट्टराईले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖