• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कहिले जांदैछन् विश्वकप खेल्न सन्दीप ?


  • धनकुटा खबर
  • .

काठमाडौं – बलात्कार मुद्दामा हिजो मात्रै सफाइ पाएका नेपालका स्टार क्रिकेटर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेलाउने पक्षमा नेपाल क्रिकेट संघ क्यानले तत्काल प्रक्रिया अगाडी बढाउने भएको छ। क्यानले तत्कालै आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई टोलीमा समेट्न लागेको हो ।

अदालतबाट सफाइ पाए लगतै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरिसकेको छ। तर उनको कप्तानीबारे भने कुनै निर्णय लिइएको छैन । ‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनि फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौं’, क्यानका अध्यक्ष चतुरबहादुर चन्द आफैंले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्। आईसीसीसँग अनुमति लिने र स्वास्थ्य अवस्थाका बारेमा छलफल गरेर निर्णय गर्ने चन्दले बताए।

नेपाल क्रिकेट संघले आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्यको सूची पठाइसकेको छ। तर टोलीका सदस्यहरु अझै १० दिन (मे २५ तारिख) भित्रमा परिवर्तन गर्न सक्ने व्यवस्था छ। तर टोलीमा परेर गइसकेको व्यक्तिलाई फिर्ता नबोलाई टोलीमा सदस्य थप्न आईसीसीसँग अनुमति माग्ने क्यानको तयारी छ।

भौतिक रुपमा क्यानको बैठक नबसी अनलाइनमै सल्लाह गरेर द्रुतगतिमा टुंगो लगाउने पनि चन्दले बताए। क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्व कप्तान समेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो। पुस १३ गते नै जिल्ला अदालतले दोषि ठहर गरे पनि २६ गते मात्रै सजाय निर्धारण गरिएको थियो। टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलो पटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖