• Monday 5th of October 2026

५० जनालाई क्रिकेट प्रशिक्षक तालिम दिन बालेन र पारसको सहकार्य


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट प्रशिक्षक उत्पादनका लागि सहकार्य हुने भएको छ ।

काठमाडौंका मेयर बालेन शाह र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले काठमाडौंका थप ५० जना व्यक्तिलाई क्रिकेट प्रशिक्षक तालिम सञ्चालन गर्न सहकार्य गर्ने सम्झौतामा हस्तक्षर गरेका छन् ।

जसअनुसार काठमाडौं उपत्यकाका ५० वटा विद्यालय स्तरका प्रशिक्षकलाई आईसीसी लेबल ० प्रशिक्षक तालिम दिइने छ । यो तालिमको आयोजना बागमती प्रदेश क्रिकेट संघले गर्ने छ भने आवश्यक आर्थिक सहयोग महानगरले दिने छ ।

आफूहरुले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्न लागेको तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव भएकाले यो सहयाेग गर्न लागेको मेयर बालेनले बताए ।

बाग्मती प्रदेशभित्र आईसीसी लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपात कम रहेकाले आफूहरुले लेबल ० प्रशिक्षक उत्पादन गर्ने उनले बताएका छन् ।

५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने बालेनले बताएका छन् ।

यस कार्यक्रमले काठमाडौं जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास लिएको पारसले बताए ।

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा पछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन, बालेनले फेसबुकमा लेखेका छन्, ‘कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖