• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

लखनउसँग हारेपछि पुछारमा सीमित मुम्बई


  • धनकुटा खबर
  • .

वानखेडे । लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ १८ रनले विजयी बनेको हो ।

लखनउले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय ९६ रन बनाउन सक्यो । टोलीका लागि पूर्व कप्तान रोहित शर्माले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ३८ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

खेलको अन्त्यतिर नमन धिरले २८ बलमा ६२ रन बनाए पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन् । उनले ४ चौका र ५ छक्का हिर्काए । त्यस्तै, डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ तथा ईशान किसनले १४ रन बनाए ।

लखनउका लागि नविन उल हक र रवि विश्नाईले २–२ विकेट लिए भने क्रुनाल पाण्ड्या र मोहसिन खानले १–१ विकेट लिए ।

यसअघि निकोलश पुरन र कप्तान केएल राहुलको अर्धशतकको मद्दतले लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । पुरनले मात्र २९ बलमा ७५ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ८ छक्का हिर्काए ।

केएल राहुलले ४१ बलमा ५५ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे । उनीहरुलाई मार्कस स्टोइनिसले २८ तथा आयुष बडोनीले २२ रन बनाउँदै साथ दिए । मुम्बईका लागि नुवान थुसारा र पियुष चावलाले ३–३ विकेट लिए ।

पराजयपछि मुम्बई यो सिजन अङ्क तालिकामा पुछारमा सीमित बनेको छ । १४ खेलबाट टोलीले मात्र ४ खेल जित्दै ८ अङ्क बटुलेको छ । लखनउ १४ खेलबाट १४ अङ्कसहित तालिकामा छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖