• Tuesday 20th of October 2026

यसरी गरिन्छ नक्कली विवाह गराएर चीनमा नेपाली युवती तस्करी


  • धनकुटा खबर
  • .

काठमाडौं । चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले गरेको छानबिनका क्रममा यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घले छिन् ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई ठमेलबाट पक्राउ गरिएको ब्यूरोका एसपी गौतम मिश्रले बताए ।

प्रहरीका अनुसार, घलेले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै प्रलोभन देखाएकी थिइन् ।

‘केटा धनी रहेको भन्दै उनले नेपाल आउजाउ गर्न मिल्ने समेत भनेको खुलेको छ’, एसपी मिश्र भन्छन्, ‘त्यसपछि चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडितलाई जिल्ला अदालत, काठमाडौंमा लगेर ललाइफकाई १२ चैत २०७९ मा अदालती विवाह गराएको खुलेको छ ।’

विवाहपछि १ वैशाख २०८० मा उनलाई चीन लगेर घले भने नेपाल फर्किएको खुलेको छ । चीनमा भने पीडितलाई यौन शोषण गरेको खुलेको मिश्र बताउँछन् ।

‘विभिन्न व्यक्तिहरुसँग जबर्जस्ती वेश्यावृत्तिमा लगाएको समेत खुलेको छ, घलेले उनलाई ५ लाख रुपैयाँ लिएर बेचबिखन गरेको समेत अनुसन्धानबाट देखिएको छ’, उनले भने, ‘पछि पीडितले आफन्तलाई सम्पर्क गरेपछि चीनस्थित नेपलाी दूतावाससँगको समन्वयमा १ असार २०८० मा उनको उद्दार भएको थियो ।’

यो मामिलामा संलगन चिनियाँ नागरिक र अन्य व्यक्तिहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नेपाली युवतीलाई नक्कली विवाह गरेर चीनमा लगेर बेचबिखन गर्ने प्रवृत्ति नयाँ होइन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७१ सालमा गरेको अनुसन्धानमा पनि यस्तो गतिविधि भएको देखिएपछि जाँच गर्दा ‘म्यारिज ब्यूरो’ नै चलाएको फेला परेको थियो । त्यसबेला यसका सञ्चालकहरुलाई समेत ब्यूरोले पक्राउ गरेको थियो ।

२०७६ सालमा मानवबेचबिखन अनुसन्धान ब्यूरोले पनि चार चिनियाँसहित १० जनाको गिरोहलाई नेपाली युवती बेचबिखन गरेको आरोपमा पक्राउ गरेको थियो । त्यसबेला विवाह गरेर चीन पुगेका ४ युवतीको उद्दार भएको थियो ।

चीनबाट १२ कात्तिक २०८० मा पनि अर्की एक नेपाली युवतीको उद्दार भएको थियो । अधिकांश घटनामा प्रहरीले चिनियाँ नेक्ससको पटाक्षेप गर्न सकेको छैन । एसपी मिश्र भन्छन्, ‘पछिल्लो घटनाबारे थप अनुसन्धान थालेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖