• Monday 5th of October 2026

फाइनलअघि बंगलादेशले भारतलाई सिकायो पाठ


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटमा फाइनल खेल्नुअघि बंगलादेशले भारतलाई पाठ सिकाएको छ । कोलम्बोमा शुक्रबार राति भएको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको बंगलादेशले ६ रनको रोमाञ्चक जित हासिल गरेको छ।

खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन बनायो । कप्तान शकिब अल हसनले ८५ बलमा ८० रन बनाए । टहिड ऋडोएले ५४, नसुम अहमदले ४५ बलमा ४४ तथा मेहन्दी हसनले २३ बलमा अविजित रहँदै २९ रन बनाए ।

भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शमीले २ विकेट लिए । जवाफमा भारतले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै २५९ रनमात्रै बनाउन सक्यो । शुबमन गिलले १३३ बलमा १२१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

१७ रन जोड्दा रोहित शर्मालाई ० तथा तिलक बर्मालाई ५ रनमा गुमाएको भारतलाई शुबमनले सम्हाले पनि अन्त्यमा जित भने दिलाउन सकेनन् ।

अक्षर पटेलले ३४ बलमा ४२ रनको महत्वपूर्ण इनिङ्स खेले पनि टिमले जित निकाल्न सकेन । मुस्तफिजुर रहमानले ३, तमिम हसन सकिब र मेहन्दी हसनले २–२ विकेट लिए ।

प्लेयर अफ द म्याच बंगलादेशी कप्तान शकिबले ८० रनसँगै १ विकेट लिएका थिए ।

यो हारले पछिल्ला खेलहरुमा जित निकाल्दै आएको भारतलाई बंगलादेशले गतिलो पाठ सिकाएको छ ।

फाइनल खेल आइतबार हुनेछ । फाइनलमा भारत र श्रीलंका भिड्ने छन् । सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले । शुक्रबार राति भएको श्रीलंका र पाकिस्तानबीचको खेलमा श्रीलंकाले २ विकेटको सनसनीपूर्ण जित हासिल गरेसँगै श्रीलंका फाइनलमा पुगेको हो ।

कोलम्बोमा भएको वर्षाले प्रभावित खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा ७ विकेटको क्षतिमा २५२ रन बनायो । मोहम्मद रिजवानले ७३ बलमा अविजित ८६ रन जोडे । त्यस्तै अब्दुल्लाह शफिकले ५२ तथा इफ्तिकार अहमदले ४७ रन बनाए । मथिशा पथिरानाले ३ विकेट लिए ।

जवाफमा श्रीलंकाले अन्तिम ओभरमा चाहिएको आठ रन पूरा गर्दै सनसनीपूर्ण २ विकेटको जित निकालेको हो । प्लेयर अफ द म्याच कुसल मेन्डिसले ८७ बलमा ९१ रन बनाए । त्यस्तै चरिथा असलंकाले ४७ बलमा ४९ तथा सदिरा समराविक्रमले ५१ बलमा ४८ रन बनाए ।

पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो ।

अहिलेसम्म भएका १५ संस्करणमा भारतले सात पटक उपाधि जितेको छ । भारत ३ पटक उपविजेता भएको छ । श्रीलंका ६ पटक विजेता तथा ६ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ ।

यसपटक फाइनलमा पुगेसँगै भारत ११ पटक फाइनलमा पुगेको छ भने श्रीलंका १३ औँ पटक फाइनलमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖