• Monday 5th of October 2026

सक्रिय रहँदै नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छुः ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने तर सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताएका हुन्।
‘२० वर्षपछि तपाइँको अनुपस्थिति हुँदै गर्दा त्यतिखेर देशमा कस्तो नेतृत्व हुनुपर्छ?’भन्ने एक विद्यार्थीको प्रश्नमा ओलीले २० वर्षमै आफू निष्क्रिय नहुने बताए।

‘अझै २० वर्ष सक्रिय राजनीतिमा रहने विचार गरेको छु,’ उनले भने, ‘२० वर्ष सक्रिय रहनुको मतलब २० वर्ष नै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्वमा रहेकाहरूलाई सहयोग गर्छु सक्रिय रहेर।’
ओलीले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि बताए। ‘आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तरपनि पदमा बसिरहन चाहने प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई तोड्न चाहन्छु,’ उनले भने।

त्यसकारण आफू सक्रिय रहँदा रहँदै अर्को योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्ने उनले बताए।

ओलीले आफू पहिले अलि बिरामी भएपनि अहिले ठिक भएको बताए। ‘धेरैपल्ट अपरेसन गर्नुपर्‍यो। दुइपटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो। अहिले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिरहेको छ। कुनै समस्या छैन,’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖