एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले आफैंलाई अब्बल राजनीतिज्ञ नठान्ने बताएका छन् । बालबालिकासँगको अन्तरक्रियामा ओलीले अब अब्बल राजनीतिज्ञ नयाँ पुस्ताबाट जन्मिनुपर्ने बताए ।
‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ तर पूर्व प्रधानमन्त्री भने हुँ । अब्बल राजनीतिक अब तपाईँहरू, नयाँ पिँढीबाट जन्मिनुपर्छ । हाम्रो पिँढीभन्दा तपाईँहरू, देशभक्त, विकासवादी, भिजननरी, कर्मठ र क्रियाशील हुनुपर्छ । त्यस्ता सफल नेताको रुपमा तपाईँहरू आउनुपर्छ’ ओलीले बालबालिकाको जिज्ञासा भने, ‘मेरा असफलता छन् । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकेको छैन । म इमानका साथ काम गर्छु । देश र जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्तिको ध्रुत्याइँ, छल, कपटले राज्यको सम्पत्ति संरक्षण हुँदैन । जे गर्छु इमानदारिताको साथ गर्छु ।’
नयाँ पिँढीले स्वतन्त्र, स्वाधीन, भूगोलको रक्षा गर्न सक्ने गरी काम गर्नुपर्ने उनले बताए । आफू सामान्य परिवारबाट राजनीतिमा आएकोले धेरै कुराको जानकारी भएको बताए ।
‘म एकदमै सामान्य बालक थिएँ । पहाड दुर्गम गाउँको हुँ । जबरजस्त काम लगाउने भन्दा पनि बच्चादेखि नै काम सिकेको हो । तरकारी केलाउने, घर सफा गर्ने, सबै काम आउँछ ।
सानोमा आइरन हुँदैन थियो । यो म जान्दिनथेँ । लुगा धोएपछि पट्याउने राख्ने हुन्थ्यो’ ओलीले भने, ‘तर जिज्ञासु बालक र किशोर थिएँ । अन्धविश्वासमा हिँड्ने भन्दा सत्य र तथ्य जान्न खोज्ने हुँदा विद्रोही स्वभाव पनि बनायो । प्राथमिक शिक्षा, त्यसपछि प्रधानन्यायाधीश, भूमिगत, कैदी बन्दीको परिचय, राजनीतिक कार्यकर्ताको परिचय मेरो छ ।’
आफू सत्यको पुजारी रहेको भन्दै उनले १४ वर्ष जेल पर्दा २५ पटक ठाउँ सारिएको पनि बताए । ‘केपी ओली सत्यको पुजारी हो । मान्छेका जीवनका आयाम र विभिन्न अवस्थामा परिचय हुन्छन् । १४ वर्ष जेल बस्दा २५ पटक जेल चलान भएको छ । पटक-पटक जेल सरुवा हुँदा हातमा हतकडी र खुट्टामा नेल लगाउँथे । फलामको नेलले खुट्टामा घाउ हुँदा झुम्रा बाँधेर हिँडेको छु । असोज २३ गतेदेखि फागुनको आधासम्म एउटै कपडा नफेरिकन बसेको छु ।’
