• Saturday 28th of November 2026

सन्दीपको भिसा अन्योलमा, क्यानले आइसीसीसँग माग्यो थप समय


  • धनकुटा खबर
  • .

वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नु पर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन् । उनी अदालती प्रक्रियामा रहेकाले समावेश नगरिएका हुन् । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपलाई विश्वकपको स्क्वाडमा समावेश गर्नका लागि क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ । आइसीसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरु अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा परेका छन् भने राजनीतिक भेटघाटका लागि व्यस्त भए पनि कुनै सकारात्मक सन्देश भने पाइसकेका छैनन् ।

जसका कारण क्यानले आइसीसीलाई पत्रचार गर्दै आज नेपालले अन्तिम १४ जनाको टिम सार्वजनिक गर्ने र केही समय अर्थात जुन २ सम्मको समय दिन माग गरेको हो । क्यान स्रोतका अनुसार आज १४ जनाको खेलाडी लिस्ट सार्वजनिक हुने छ भने यदि सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ ।

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप अमेरिका जाने तयारीमा रहेका थिए । सफाइ पाएको भोलिपल्टै क्यान पुगेर कागजी प्रक्रिया अघि बढाउन आग्रह गर्दासम्म आफूसँग अझैं २ वर्षको भिसा भएको भन्दै जाने कुरामा ढुक्क देखिएका थिए । तर, जाने तयारीमा रहेका बेला सन्दीपको यसअघिको भिसा रद्द भएको इमेल पाएपछि भने छाँगाबाट खसेको जस्तै भएर पुनः नयाँ प्रक्रिया सुरु गरेका थिए । नयाँ प्रक्रिया अनुसार उनले आवेदन गर्दा दूतावासबाट भिसा रिजेक्टमा परेपछि अहिले नेपाल क्रिकेट संघ क्यान र सरकारले पहल थालेका कुराहरु पनि सार्वजनिक भएका छन् । यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, युवा तथा खेलकुदमन्त्री र राखेपले सहजीकरण गरिरहेको बताइएको छ ।
क्यानको नाटक, सन्दीपमाथि राजनीति !

खेलकुदबाट सिफारिस भएर परराष्ट्रमा कुटनीतिक नोटबनाउनका लागि आग्रह गरिए पनि अझै नोट तयार भने नभएको परराष्ट्र स्रोतले बताएको छ । जसका कारण सन्दीपको भिसा प्रक्रिया अन्यौलमै रहेका बेला सामाजिक सञ्जाल प्रगोगकर्ताभने सन्दीपको भिसा लागेको खबर प्रकाशित गरेकोमा सन्दीप निकट व्यक्तिहरुले आपत्ति जनाएका छन् ।

अमेरिकी दूतावास शनिबार र आइतवार विदा हुने भएकाले नयाँ जे जति प्रक्रिया अघि बढाउने विषय सोमबारमात्रै तय हुने छ । परराष्ट्रका अधिकारीहरुले पहिलो दूतावससँग समन्वय गरेर भिसा दिने निश्चित गरेपछि मात्रै कुटनीतिक नोट बनाउने अवस्थामा रहेको स्रोतले जनाएको छ । सन्दीपले सफाई पाउनसाथ विश्वकपमा उनको सहभागिता बारे दूतावासले नै चासो देखाए पनि पहिलाको भिसा रद्द हुनु र पछि नयाँ प्रकृयामा जाँदा रिजेक्ट हुनलाई भने सबैले आश्चर्यको रुपमा लिएका छन् ।

नेपालले जुन ४ देखि आइसीसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖