• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ह्युस्टनमाथि नेपालको जित


  • धनकुटा खबर
  • .

ह्युस्टन । टी ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ ।

शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६ रन बनाए ।

नेपालका तीब्र गतिका बलर करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले समान १ विकेट लिए ।

प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे ।

आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १-१ विकेट लिए ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖