• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टी–२० विश्वकप : नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपाल र क्यानडाबिचको अभ्यास खेल डालासमा खेलिने छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

यसैगरी क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, रविन्दरपाल सिंह, नवनित धालिवाल, कलिम साना, डिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, परगत सिंह, निकोलस किर्तन, रेयान खान पठान, जुनैद सिद्धकी, दिलप्रित बाजवा, श्रेयष मोभा र रिसिभ जोशी रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० तारिखमा खेल्नेछ । दोस्रो अभ्यास खेल पनि डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममै खेलिने छ । दोस्रो अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालको समूहमा तीनवटा टेस्ट राष्ट्र परेका छन् । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग डालासमा खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

यसैगरी नेपालले तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग क्यारेबियन राष्ट्र सेन्ट भिनसेन्टमा खेल्नेछ । चौथौँ खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबिचको खेल जुन १६ तारिखमा सेन्ट भिनसेन्टमै खेलिने छ ।

क्यानडा भने विश्वकपको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पूर्वविजेता भारत र पाकिस्तानसँगै आयरल्यान्ड र आयोजक अमेरिका पनि रहेका छन् । विश्वकपमा क्यानडाले आफ्नो पहिलो खेल जुन १ तारिखमा अमेरिकासँग खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला पनि एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि हालको भन्दा केही फरक थियो ।

यसैगरी आईसीसी टी–२० विश्वकपमा क्यानडाले पहिलो पटक सहभागिता जनाउन लागेको हो । क्यानडाले छनोट चरण पार गर्दै टी–२० विश्वकपको नवौँ संस्करण खेल्न लागेको हो । क्यानडा अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖