काठमाडौं । सदस्यता शुद्धीकरणको नाममा मापदण्ड विपरीत काम गरेको भन्दै प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
प्रेस चौतारी नेपालको पदाधिकारी सहितको टोलीले सोमबार कार्यालयमा ताला लगाएको हो । अग्रजहरूको बलिदान, कष्टसाध्य संघर्ष, असाधारण त्याग र श्रमजीवी पत्रकारहरूको योगदानको जगमा पत्रकार महासंघ नेपालको अगुवा नागरिक संगठन रूपमा स्थापित भएको बताउँदै प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले अहिलेको महासंघ नेतृत्वले त्यसलाई समाप्त पार्ने काम गरेको बताउनुभयो ।
निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ पत्रकार महासंघको वर्तमान नेतृत्वलाई संयमताका साथ सहजीकरण र सहयोग गर्दै आएकोमा त्यसलाई कमजोरी ठान्ने काम भएको उहाँले बताउनुभयो । ‘सक्रिय पत्रकारहरूलाई नै सदस्यताबाट वञ्चित हुने अवस्था वर्तमान नेतृत्वले सिर्जना गरेपछि हामी मूकदर्शक बन्न सकेनौँ, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण होस् भन्ने हाम्रो पवित्र भावनामाथि पत्रकार महासंघको वर्तमान नेतृत्वले कुठाराघात गरेको छ’,उहाँले भन्नुभयो ।
पत्रकारिता गर्ने बाहेकलाई मात्र सदस्यता नवीकरण गर्ने र दोहोरो मापदण्ड अपनाउने हरकत प्रेस चौतारी नेपाललाई अमान्य भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघको गौरवमय इतिहासलाई धूलिसाथ बनाउने काम गरिएको भन्दै उहाँले यसको विरुद्ध प्रेस चौतारी नेपाल कडा आन्दोलनमा उत्रिएको बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले प्रेस चौतारी नेपालले सदस्यता शुद्धीकरणको लागि निर्णायक आन्दोलन सुर गरिएको बताउनुभयो । राजनीतिक आस्थाकै आधारमा प्रेस चौतारी आबद्ध क्रियाशील पत्रकारको देश भरीको सदस्यता खोस्ने काम महासंघ नेतृत्वले गरेको उहाँले बताउनुभयो । प्रेस चौतारी आबद्ध पत्रकारको सदस्यता खोस्ने र पत्रकारिता नै नगर्ने गैर पत्रकारको नाम सदस्यताको नाममा थप्ने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘आज केन्द्रीय कार्यालयमा तालाबन्दी गर्यौँ, अब हामी सशक्त आन्दोलनमा उत्रियौँ’, उहाँले भन्नुभयो ।
लामाले महासंघको नेतृत्वले प्रेस चौतारी आबद्ध पत्रकार विरुद्ध सुनियोजित आक्रमण गरेको बताउनुभयो । प्रेस चौतारी नेपाल यसको प्रतिवादमा उत्रिएको उहाँको भनाइ छ । ‘हामी तालाबन्दी गरेर सशक्त आन्दोलनमा उत्रिएका छौँ, अब हाम्रो थप आन्दोलन अघि बढ्छ’, उहाँले भन्नुभयो । -सनराइज खबल
