काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्दै प्रश्न गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले वाग्लेको भनाइले राष्ट्रिय हितमा असर पार्ने टिप्पणी गरेका छन्।
बाँस्कोटाले प्रधानमन्त्री शाहले विगतमा ग्रेटर नेपालको नक्सा टाँगेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउने अपेक्षा व्यक्त गरेका छन्। उनले यस विषयमा प्रधानमन्त्रीको धारणा र कदम कस्तो हुन्छ भन्ने प्रश्नसमेत उठाएका छन्। साथै, उनले ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने उखान प्रयोग गर्दै टिप्पणी गरेका छन्।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पनि वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।
थापाले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गरेका थिए।
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमण र अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा सीमा विवाद, राष्ट्रिय हित र राष्ट्रवादसम्बन्धी बहस अघि बढेको छ।
