काठमाडौं । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ।
फिलिपिन्सको वायुसेनाका अनुसार शुक्रबार राजधानी मनिलाको दक्षिणमा पर्ने बाताङ्गास प्रान्तस्थित फर्नान्डो एयर बेसमा एसएफ–२६० मोडलका दुई प्रशिक्षण विमान दुर्घटनामा परेका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै विमान आकाशमै ठोक्किएका थिए। दुर्घटनापछि विमानहरू सैन्य हवाई अड्डाकै परिसरमा खसेका थिए।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। अनुसन्धान पूरा नहुँदासम्म वायुसेनाले एसएफ–२६० मोडलका सबै प्रशिक्षण विमानको उडान अस्थायी रूपमा रोकेको छ।
यसअघि गत मे महिनामा पनि फिलिपिन्सको उत्तरी पहाडी क्षेत्रमा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो। सन् २०२३ मा भएको यस्तै दुर्घटनामा पनि दुई पाइलटले ज्यान गुमाएका थिए।
